काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो ।

एमाले काठमाडौं–२ र ५ तथा चितवन-१ र २ मा चुनाव जित्नेमा ढुक्क थियो । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो ।

चितवन-१ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए । सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कटाउने समीक्षा एमालेको छ । हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com