काठमाडौं। अमेरिका र इरान बीच जारी तनावपूर्ण अवस्थाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।
उनले वार्तामा ढिलाइ भइरहेको भन्दै इरानको “समय सकिँदै गएको” बताएका हुन्।
इरानसँगको युद्धविराम कायम रहे पनि दीर्घकालीन समाधानका लागि भइरहेको वार्ता प्रभावकारी रूपमा अघि बढ्न नसकेको अवस्थामा ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन्, “इरानसँग अब धेरै समय बाँकी छैन।
उनीहरूले तत्काल निर्णय लिनुपर्छ, नत्र अन्ततः केही पनि बाँकी रहने छैन। अहिले समय नै सबैभन्दा महत्वपूर्ण विषय हो।”
यता इरानी सञ्चारमाध्यमहरूले भने अमेरिकाले इरानको पछिल्लो प्रस्तावमाथि कुनै ठोस प्रतिक्रिया नदिएको दाबी गरेका छन्।
इरानी समाचार संस्था मेहरका अनुसार अमेरिका सम्झौताप्रति सकारात्मक नभए वार्ता थप जटिल बन्न सक्ने संकेत देखिएको छ।
गत साता इरानले अमेरिकाले अघि सारेका केही मुख्य प्रस्ताव अस्वीकार गरेको थियो।
त्यसपछि ट्रम्पले युद्धविराम अवस्था “जीवन समर्थनमा टिकेको” भन्दै स्थिति अझै संवेदनशील रहेको टिप्पणी गरेका थिए।
दुवै देशबीच प्रत्यक्ष संवाद जारी रहे पनि अविश्वास, सुरक्षा चासो र क्षेत्रीय शक्ति सन्तुलनका कारण सहमति जुट्न कठिन भइरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया