काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहहरूमाथि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले विशेषगरी खाडी मुलुकहरूमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा अवैध रूपमा पठाउने र शोषण गर्ने क्रम अझै रोकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।

advertisement

उनले कुवेतलगायतका देशहरूमा नेपाली महिलाहरूलाई १० देखि १२ लाख रुपैयाँसम्ममा बेचबिखन गर्ने गिरोह सक्रिय रहेको दाबी गर्दै त्यस्ता कार्यमा संलग्न सबैलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले एक प्रतिनिधि घटनाका रूपमा कुवेतमा रहेका शर्मिला दर्जीको तत्काल खोजी र उद्धार गर्न पनि सरकारसँग माग गरिन्।

यस्ता घटनाहरू व्यक्तिगत नभई प्रणालीगत समस्या भएको भन्दै उनले राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।

ओलीले वैदेशिक रोजगारीमा नेपाली महिलाहरू विशेषगरी घरेलु कामदारका रूपमा जाने प्रक्रियामा सरकारले सन् २०१७ देखि लगाएको प्रतिबन्धको प्रभावकारितामाथि पनि प्रश्न उठाइन्।

सरकारको उद्देश्य शोषणबाट सुरक्षा दिनु भए पनि व्यवहारमा त्यो लक्ष्य पूरा हुन नसकेको उनको भनाइ थियो।

उनका अनुसार प्रतिबन्ध लगाइए पनि घरेलु कामदारका रूपमा विदेश जाने क्रम पूर्ण रूपमा रोकिएको छैन, बरु मानव तस्करहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरेर महिलाहरूलाई खाडी मुलुकसम्म पुर्‍याइरहेका छन्।

उनले कतिपय अवस्थामा भारत हुँदै सीमा पार गराइने, कतिपयलाई अफ्रिकी मुलुकहरूलाई ट्रान्जिट बनाएर पठाइने जस्ता अवैध अभ्यास भइरहेको दाबी गरिन्।

उनले मानव तस्करीमा संलग्न एजेण्टहरूको सञ्जालमा नेपाली नागरिककै संलग्नता रहेको भन्दै यस्ता गिरोहलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याइन्।

साथै, सरकारले वैदेशिक रोजगारीका कारण पीडा भोगिरहेका नागरिकहरूको उद्धार र संरक्षण कार्यलाई अझ प्रभावकारी र तत्काल गर्नुपर्नेमा जोड दिइन्।

उनले कुवेतमा हाल पनि नेपाली महिलाहरूलाई अवैध रूपमा १० देखि १२ लाख रुपैयाँमा बेचबिखन गर्ने गतिविधि भइरहेको उल्लेख गर्दै राज्य संयन्त्रलाई तत्काल सक्रिय हुन आग्रह गरिन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com