काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न चाहेको भए न्यायिक पोसाक कोट खोलेर आउन चुनौती दिएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले न्यायाधीशहरूको प्रमुख जिम्मेवारी न्याय सम्पादन रहेको उल्लेख गर्दै अदालतलाई अन्य राजनीतिक वा बाह्य विषयमा विषयान्तर गर्न नहुने धारणा राखिन्।
उनले भनिन्, “सर्वोच्च अदालतका न्यायाधीशहरूको मुख्य धर्म, जिम्मेवारी र दायित्व न्याय सम्पादन हो।
यदि न्यायपालिका सत्ता कब्जा गर्ने नियतले राजनीतिक स्तरमा उत्रिन थाल्यो भने यसले निष्पक्ष न्याय दिन सक्दैन।”
बाँस्कोटाले सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दर्तासम्बन्धी दिएको आदेशप्रति पनि प्रश्न उठाइन्।
उनका अनुसार प्रशासनले दरपीठ गरेका रिट दर्ता गर्न आदेश दिनु न्यायिक प्रक्रियाको दृष्टिले कत्तिको उचित हो भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ।
त्यसैगरी, कानुन दिवसका अवसरमा सपना प्रधान मल्लले दिएको अभिव्यक्ति—“लडाइँ अझै बाँकी छ” भन्ने भनाइप्रति पनि उनले आपत्ति जनाइन्।
उनले प्रश्न गर्दै भनिन्, “यदि यो सत्तासँगको लडाइँ हो भने, न्यायाधीशको भूमिकासँग यो कसरी मेल खान्छ?”
सांसद बाँस्कोटाले अन्त्यमा स्पष्ट रूपमा भनिन्, “यदि न्यायाधीशहरूले राजनीतिक भूमिका खेल्न खोजेका हुन् भने, कोट खोलेर आउनुहोस्, हामी राजनीतिक मैदानमा तयार छौं।”
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया