एजेन्सी । युक्रेनको ओडेसा क्षेत्रस्थित बन्दरगाह नजिक ड्रोन आक्रमण हुँदा चिनियाँ स्वामित्वको एक मालवाहक जहाज क्षतिग्रस्त भएको छ। यो घटना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङ बीच भेटवार्ताका लागि पुटिन बेइजिङ जानुअघि भएको हो।
युक्रेनी अधिकारीहरूका अनुसार सोमबार भएको उक्त आक्रमणमा दुईवटा नागरिक जहाजलाई लक्षित गरिएको थियो। तीमध्ये एउटा मार्सल आइल्यान्ड्सको झन्डा बोकेको र अर्को गिनी–बिसाउको झन्डामुनि सञ्चालन भइरहेको जहाज रहेको जनाइएको छ।
युक्रेनी नौसेनाका अनुसार प्रभावित जहाजमध्ये ‘केएसएल देयाङ’ पनि रहेको छ, जुन चिनियाँ स्वामित्वमा रहेको र मार्सल आइल्यान्ड्सको झन्डामुनि सञ्चालन भइरहेको मालवाहक जहाज हो। आक्रमणपछि जहाजको केही भागमा आगलागी भएको देखिने तस्बिरहरू सार्वजनिक भएका छन्।
यस घटनापछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसमाथि बन्दरगाह क्षेत्र लक्षित गरी नागरिक जहाजमाथि आक्रमण गरेको आरोप लगाएका छन्। उनले आक्रमणका क्रममा चालक दलका सदस्यहरू सुरक्षित रहेको जानकारी दिएका छन्।
युक्रेनी नौसेनाका प्रवक्ताले जहाजमा रहेका सबै चालक दल चिनियाँ नागरिक भएको र उनीहरूलाई कुनै क्षति नपुगेको स्पष्ट पारे। आक्रमणपछि पनि जहाज आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको जनाइएको छ।
रिपोर्टअनुसार उक्त जहाज आक्रमणका बेला खाली अवस्थामा थियो र पछि ओडेसा क्षेत्रको पिभ्डेनी बन्दरगाहमा फलाम खनिज लोड गर्ने तयारीमा रहेको थियो। विश्लेषकहरूका अनुसार ओडेसा क्षेत्र युक्रेनको कृषि उत्पादन तथा निर्यातका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो, जहाँ युद्ध सुरु भएदेखि नै पटक–पटक आक्रमण हुँदै आएका छन्।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया