काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्।
सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माका अनुसार समितिले तोकेको १० दिने अवधिभित्र उक्त संख्यामा उजुरी प्राप्त भएका हुन्।
यसअघि वैशाख २५ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले डा. शर्माविरुद्ध उजुरी आह्वान गर्दै १० दिनको समयसीमा निर्धारण गरेको थियो, जसको अन्तिम म्याद आजसम्म कायम थियो।
समितिले उजुरी दर्ताका लागि विभिन्न माध्यमको व्यवस्था गरेको थियो। हुलाक, इमेलमार्फत पठाउन सकिने व्यवस्थासहित सिधै सचिवालयमा उपस्थित भएर पत्र दर्ता गर्ने, समितिका सदस्यलाई भेटेर खाममार्फत बुझाउने तथा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दिन सकिने सुविधा दिइएको थियो।
उजुरी दर्ता गर्दा सम्बन्धित विषयको स्पष्ट आधार र कारण खुलाउन अनिवार्य गरिएको थियो। अब जेठ ५ गते बस्ने समितिको बैठकमा सबै सदस्यहरूको उपस्थितिमा प्राप्त उजुरीहरू खोलिनेछन् र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने जनाइएको छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया