काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको बताउँदै केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने जानकारी दिएकी छन्।
मन्त्री रावलको सचिवालयले सार्वजनिक गरेको भिडियो सन्देशमा उनले विगतमा सुकुमबासी समस्या समाधानका लागि अपनाइएका संरचना र कार्यशैली प्रभावकारी हुन नसकेको स्वीकार गरिन्।
उनले पुराना संरचनाले अपेक्षित नतिजा दिन नसकेकाले सरकारले नयाँ ढंगबाट काम अघि बढाएको बताइन्।
उनले भनिन्, “पुरानो ढर्राबाट हुँदैन। विगतका संरचनाले राम्रोसँग काम गर्न सकेनन् र ठोस परिणाम पनि दिन सकेनन्।
त्यसैले सरकारले फरक ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गरेको हो।”
मन्त्री रावलका अनुसार सरकारले अध्यादेशमार्फत संरचनात्मक परिवर्तन गर्दै नयाँ संयन्त्र निर्माण प्रक्रिया अघि बढाएको छ।
ती संरचनाहरू तयार हुने चरणमा रहेको र त्यसबाट छिट्टै परिणाम देखिने उनको दाबी छ।
उनले सरकारको मुख्य लक्ष्य अबको केही हप्ताभित्रै सुकुमबासीलाई लालपुर्जा वितरण सुरु गर्ने रहेको स्पष्ट पारिन्।
“अबको केही हप्ताभित्रै सुकुमबासीका हकमा लालपुर्जा वितरण गर्छौँ,” उनले भनिन्।
सरकारले सहकारी समस्यापछि सुकुमबासीको विषयलाई प्राथमिकतामा राखेर समाधान प्रक्रिया अघि बढाएको पनि मन्त्री रावलले बताइन्।
लामो समयदेखि जग्गाधनी प्रमाणपत्रको प्रतीक्षामा रहेका सुकुमबासी समुदायका लागि यो घोषणा महत्वपूर्ण मानिएको छ।
पछिल्लो समय विभिन्न स्थानमा सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनापछि सरकार आलोचनामा परिरहेको बेला आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया