काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई आजै पद तथा गोपनीयताको शपथ गराएर सर्वोच्च अदालतको पदबहाली गराउने तयारी गरिएको छ।
संवैधानिक परिषद्ले गत वैशाख २४ गते डा. शर्मालाई सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध १६ वटा उजुरी परेका थिए।
ती उजुरीमाथिको सुनुवाइ प्रक्रिया मंगलबार बिहानदेखि सुरु भएको छ।
राजनीतिक वृत्तमा सर्वोच्च अदालत र सरकारबीच पछिल्लो समय बढ्दो तनाव तथा अदालतले सरकारप्रति असहयोगी भूमिका लिएको बुझाइका कारण सत्तापक्षले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तीव्र रूपमा अघि बढाएको चर्चा भइरहेको छ।
सत्ता साझेदार दल रास्वपाका एक नेताका अनुसार आजै संसदीय सुनुवाइ समितिबाट डा. शर्माको नाम अनुमोदन गराउने र बुधबारदेखि नै मुद्दाको पेसी तोक्न सक्ने गरी तयारी गरिएको छ।
कानुनी व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि संसद् सचिवालयले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई पठाउनुपर्ने हुन्छ।
त्यसपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय निर्धारण गर्ने प्रचलन रहेको छ।
स्रोतका अनुसार आज बेलुका ६ बजेसम्म शपथ ग्रहण सम्पन्न गर्ने गरी राष्ट्रपति कार्यालयसँग समन्वय भइरहेको छ।
शपथ ग्रहणलगत्तै डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर पदबहाली गर्ने तयारीसमेत गरिएको बताइएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया