काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले स्यानिटरी प्याड मा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै विलासिता नभई महिलाको प्राकृतिक आवश्यकता भएको स्पष्ट पारे।

advertisement

उनले महिनावारीका समयमा सुरक्षित र स्वस्थ रहन पाउनु प्रत्येक महिलाको मौलिक अधिकार भएको उल्लेख गर्दै सरकारले यस विषयमा असंवेदनशील नीति अपनाएको आरोप लगाए।

“महिनावारीलाई राजस्वको स्रोत बनाउने राज्यले महिला सशक्तीकरणको भाषण गर्न सुहाउँदैन,” भन्दै उनले सरकारको नीति दोहोरो रहेको टिप्पणी गरे।

उनका अनुसार स्यानिटरी प्याड जस्तो अत्यावश्यक वस्तुमा कर लगाइनु सामाजिक न्याय र समानताको सिद्धान्तविपरीत छ।

उनले सरकारले एकातिर महिला सशक्तीकरण र लैङ्गिक समानताको कुरा गर्ने तर अर्कोतिर महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सामग्रीमा कर लगाउने कार्य विरोधाभासी भएको बताए।

सांसद यादवले जनस्वास्थ्यलाई हानि पुर्‍याउने चुरोट र मदिराजस्ता वस्तुमा कर बढाउनुपर्ने तर आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीमा कर हटाउनुपर्ने सुझाव पनि दिए।

उनले स्यानिटरी प्याडमा लगाइएको कर पूर्ण रूपमा खारेज गरी महिलाहरूलाई राहत दिन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com