काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक सहित नेपाल–भारत सीमा विवाद समाधानका लागि दुवै देश कूटनीतिक संवादको मार्गमा अघि बढिरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उठेको उक्त विषयमा नेपाल कम्युनिस्ट पार्टी का सांसद प्रमेश कुमार हमाल ले सरकारको धारणा मागेका थिए। उनले नेपालले पठाएको कूटनीतिक नोटको प्रतिक्रिया के आयो भन्ने प्रश्न गरेका थिए।

advertisement

जवाफमा मन्त्री खनालले मानसरोवर यात्रा सम्बन्धी विषय सार्वजनिक भएपछि नेपालले आफ्नो दाबी स्पष्ट गर्दै कूटनीतिक नोट पठाएको स्मरण गराए। उनले भने, ‘हामीले आफ्नो दाबी र दायरा स्पष्ट पार्दै नोट पठाएका थियौं। त्यसमा भारतले पनि आफ्नो धारणा राखेको छ। तर समस्या समाधान कूटनीतिक पहलमार्फत गर्ने उनीहरूको स्पष्ट संकेत आएको छ।’

उनका अनुसार नेपाल पनि सीमा विवादलाई संवादकै माध्यमबाट टुंग्याउने पक्षमा छ। ‘यस्ता संवेदनशील विषयहरू कूटनीतिक छलफलबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने।

खनालले नेपाल–भारतबीचको सीमा व्यवस्थापनका लागि प्राविधिक तहमा काम भइरहेको पनि जानकारी दिए। दुवै देशको ‘बोर्डर वर्किङ ग्रुप’ अन्तर्गतको प्राविधिक समितिले अहिले पनि सक्रिय रूपमा काम गरिरहेको उनले बताए।

उनले सीमा निर्धारणको काम वर्षायाममा सम्भव नहुने र प्रायः हिउँदको सुख्खा मौसममा हुने उल्लेख गर्दै गत वर्षदेखि यो प्रक्रिया पुनः सक्रिय बनेको जानकारी दिए।

नेपाल र भारतबीच लामो समयदेखि सीमा विषयमा संवाद चल्दै आएको उल्लेख गर्दै मन्त्री खनालले अब कूटनीतिक पहल र वार्तामार्फत बाँकी विवादहरू क्रमशः समाधानतर्फ उन्मुख भइरहेको विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com