काठमाडौं। प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले फेरि पनि विरोध जनाएका छन्।
मन्त्रीहरूले प्रश्नहरूको जवाफ दिएपछि प्रतिप्रश्न गर्न पाउनुपर्ने माग गर्दै उनीहरू उठेर विरोधमा उत्रिएका थिए।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुखले अब स्पष्टीकरण वा प्रतिप्रश्नको व्यवस्था नरहेको जानकारी गराएका थिए।
सभामुखले मन्त्रीहरूले सभामा उठेका विषयमा जवाफ दिइसकेको भन्दै प्रक्रिया अनुसार विषय टुंगिएको स्पष्ट पारे।
तर त्यसपछि पनि सांसद हर्कराज राईसहितका सांसदहरू शान्त नभएपछि बैठक केही समय तनावपूर्ण बनेको थियो।
सभामुखले त्यस क्रममा कडा चेतावनी दिँदै सांसदहरूलाई मर्यादामा रहन आग्रह गरे।
उनले भने, “मैले माननीय सदस्यलाई फेरि भनेको छु। आज तीनचोटी रुलिङ गरिसकेको छु। मर्यादामा बस्नुहोस्, आफ्नो स्थानमा बस्नुहोस्।”
सभामुखले सांसदहरूको व्यवहार संसद्को नियमावली, संविधान र संसदीय मर्यादासँग मेल नखाएको टिप्पणी गर्दै त्यसलाई अभद्र व्यवहारको रूपमा व्याख्या गरे।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड (क) तर्फ पनि ध्यानाकर्षण गराउँदै सदन सञ्चालनका नियम विपरीत गतिविधि नगर्न चेतावनी दिएका छन्।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया