काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकारको “जिरो टोलरेन्स” नीति रहेको स्पष्ट पारे ।
उनले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनेसँगै देशभित्रै रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताए ।
सीपयुक्त जनशक्ति उत्पादनका लागि विभिन्न तालिम तथा रोजगारमुखी कार्यक्रम सञ्चालन भइरहेको जानकारी पनि उनले दिए ।
मन्त्री यादवले विदेशमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र उद्धारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै दूतावासमार्फत आवश्यक पहल भइरहेको बताए ।
उनले भने, “विदेशका अस्पतालमा उपचाररत तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको छ ।”
वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि मन्त्रालयले “पास्ट, प्रिजेन्ट र फ्युचर” मोडलअनुसार काम अघि बढाएको पनि उनले बताए । उनका अनुसार फर्स्यौट हुन बाँकी करिब ४० हजार उजुरीलाई वर्गीकरण गरी समयसीमाभित्र समाधान गर्ने नीति लिइएको छ ।
त्यसैगरी, आगामी साउनदेखि मुद्दा तथा अनुसन्धान प्रक्रियालाई सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
दैनिक आउने गुनासा तत्काल सम्बोधन गर्न कमान्ड सेन्टर स्थापना गरिएको तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिक सहजीकरणका लागि श्रम हेल्पडेस्क सञ्चालनमा ल्याइएको पनि मन्त्री यादवले बताए ।
उनले भविष्यमा वैदेशिक रोजगार व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरी थप पारदर्शी र न्यायोचित बनाइने तथा वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन कानुनी सुधार प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया