काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने आश्वासन दिँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन्। उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितबाट ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ। उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो।
त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एक जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पाँचथर फिदिमका ४८ वर्षीय सूर्य प्रकाश खेजुम पक्राउ परेका छन्। उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिइएको हो।
यस्तै, लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक भुम्लुकी ३३ वर्षीया शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई जेठ ६ गते काठमाडौँको ज्ञानेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्याउने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया