झापा । झापाको हल्दिबारी गाउँपालिका–५ मा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४४ वर्षीय गोकर्ण भण्डारी रहेका छन्।
प्रहरीका अनुसार जेठ ५ गते राति घरायसी विवाद चर्किएपछि गोकर्णले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीमाथि आक्रमण गरेका थिए। विवादका क्रममा उनले बाम्फोक प्रहार गर्दा उर्मिलाको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले आरोपी गोकर्णलाई तत्काल नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनामा प्रयोग गरिएको बाम्फोक पनि बरामद गरेको जनाएको छ।
हाल पक्राउ परेका गोकर्णलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया