काठमाडौं। अमेरिका र क्युबाबीचको दशकौँ पुरानो तनाव फेरि सतहमा आएको छ। अमेरिकी प्रशासनले सन् १९९६ को ‘ब्रदर्स टु द रेस्क्यु’ विमान घटनासम्बन्धी मुद्दामा पूर्व क्युबाली राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध अभियोग दर्ता गरेपछि दुई देशबीचको सम्बन्ध पुनः चिसिएको हो।

सन् १९९६ मा अमेरिकी भूमिबाट सञ्चालित क्युबाली निर्वासित समूह ‘ब्रदर्स टु द रेस्क्यु’का दुई विमान क्युबाली आकाशमा खसालिएका थिए।

advertisement

उक्त घटनामा चार जनाको मृत्यु भएको थियो। अमेरिकाले त्यसलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको दाबी गर्दै आएको छ भने क्युबाले आफ्नो हवाई क्षेत्रको रक्षा गर्न बाध्य भएको प्रतिक्रिया दिँदै आएको छ।

हाल अमेरिकी अदालतमा दर्ता गरिएको अभियोगमा राउल कास्त्रो प्रत्यक्ष वा परोक्ष रूपमा घटनासँग जोडिएको आरोप लगाइएको बताइएको छ।

यद्यपि कानुनी प्रक्रिया प्रारम्भिक चरणमै रहे पनि यसको राजनीतिक प्रभावलाई भने गम्भीर रूपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग तत्काल ठूलो तनाव वा सैन्य टकराव नबढ्ने बताएका छन्।

उनले अमेरिका क्युबामाथि दबाब कायम राख्ने संकेत गर्दै ‘हामी क्युबालाई स्वतन्त्र बनाइरहेका छौँ’ भन्ने अभिव्यक्ति प्रयोग गरेका छन्।

विश्लेषकहरूका अनुसार यो कदमले अमेरिका–क्युबा सम्बन्धलाई पुनः तनावपूर्ण मोडमा पुर्‍याउन सक्छ।

केही अमेरिकी राजनीतिक समूहले यसलाई ‘ऐतिहासिक न्याय’को प्रयास भनेका छन् भने क्युबाले यसलाई राजनीतिक उद्देश्यले प्रेरित कदमको संज्ञा दिएको छ।

क्युबाली–अमेरिकी नेता कार्लोस गिमेन्जले अभियोगको स्वागत गर्दै कास्त्रो शासनले आफ्ना अपराधको जवाफ दिनुपर्ने बताएका छन्।

अर्कोतर्फ, हवानामा धेरै क्युबाली नागरिकहरूले अमेरिकाविरुद्ध प्रतिरोध गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

अमेरिका र क्युबाबीचको सम्बन्ध सन् १९५९ को क्युबाली क्रान्तिपछि लगातार तनावपूर्ण रहँदै आएको छ।

फिडेल क्यास्ट्रोको नेतृत्वमा कम्युनिस्ट शासन स्थापना भएपछि दुई देशबीच कूटनीतिक सम्बन्ध विच्छेद, आर्थिक प्रतिबन्ध र राजनीतिक टकरावको लामो इतिहास रहँदै आएको छ।

विश्लेषकहरूले हालको घटनालाई नयाँ संकटभन्दा पनि पुरानो अविश्वासको अर्को अध्यायका रूपमा व्याख्या गरेका छन्।

तत्काल युद्ध वा ठूला कूटनीतिक कदमको सम्भावना कम देखिए पनि दुई देशबीचको सम्बन्ध अझै अनिश्चित र संवेदनशील अवस्थामा रहेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com