काठमाडौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ।
तर वर्षा कम भए पनि बाढी तथा पहिरोको जोखिम भने कायमै रहने विभागले जनाएको छ।
विभागका अनुसार मनसुन अवधिमा लामो समयसम्म खडेरी पर्न सक्ने र त्यसपछि एक्कासि ठूलो वर्षा हुने सम्भावना भएकाले बाढी र पहिरोको जोखिम घट्ने छैन।
विभागकी प्रवक्ता तथा मौसमविद् विभूति पोखरेलले यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने र औसतभन्दा बढी तापक्रम रहने सम्भावना रहेको जानकारी दिएकी छन्।
उनका अनुसार मौसम पूर्वानुमान प्रणालीलाई थप प्रविधियुक्त बनाइएको छ र यसको प्रभावकारिता क्रमशः बढ्दै गएको छ।
विभागले गरेको प्रक्षेपणअनुसार कर्णाली, लुम्बिनी, मधेस र कोसी प्रदेशका केही भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना बढी छ।
साथै केही क्षेत्रमा अधिकतम तापक्रम पनि सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ।
विभागले कम वर्षा भए पनि आकस्मिक रूपमा हुने भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया