काठमाडौं । सांसद मञ्जु भुसालले निर्माण व्यवसायीहरूमा देखिएको ढिलासुस्ती र विभिन्न बहाना बनाएर काम टार्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले असार महिनाभित्र म्याद सकिने धेरै आयोजना रहेकाले ती योजनालाई समयमै सम्पन्न गर्न सरकार र व्यवसायी दुवै गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
मञ्जु भुसालले असारसम्म पूरा गर्नुपर्ने आयोजनाको चाप ठूलो रहेको उल्लेख गर्दै अब काममा ढिलाइ गर्ने छुट कसैलाई नभएको स्पष्ट पारिन् । मन्त्रीस्तरबाट समेत आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता आइसकेकाले निर्माण व्यवसायीहरूले बहाना होइन, परिणाम देखाउनुपर्ने उनको भनाइ थियो ।
देशभर सञ्चालनमा रहेका हजारौँ विकास आयोजना सम्पन्न गर्न राज्य र निर्माण कम्पनी दुवैले समान रूपमा जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै भुसालले निर्माण क्षेत्रमा ‘बहाना संस्कृति’ नै विकसित हुँदै गएको टिप्पणी गरिन् । यस्तो प्रवृत्तिलाई नियन्त्रण नगरे विकास निर्माणले गति लिन नसक्ने उनको धारणा थियो ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया