काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुक्रबार भक्तपुरको गुण्डु स्थित अध्यक्ष निवासमा सुरु भएको छ।

पार्टी नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्तावमाथि छलफल गरी निर्णय गर्ने तयारी गरिएको छ।

advertisement

एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन अहिलेसम्म टुंगो लाग्न सकेको थिएन।

त्यसपछि अध्यक्ष ओलीले विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्ताव अघि सारेका थिए।

स्रोतका अनुसार प्रस्तावित कार्यविभाजनमा कतिपय नेताहरूलाई दोहोरो तथा तेहेरो जिम्मेवारी दिने विषय पनि समेटिएको छ।

यही विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा देखिएपछि सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणका विषयमा समेत गम्भीर छलफल हुने जनाइएको छ।

पछिल्लो समय एमालेभित्र नेतृत्वको कार्यशैली र पार्टी सञ्चालन पद्धतिबारे असन्तुष्टि जनाउँदै केही नेता–कार्यकर्ताले अभियान सञ्चालन गरिरहेका छन्।

विशेषगरी अध्यक्ष केपी ओलीले असफलताको जिम्मेवारी लिएर पदबाट अलग हुनुपर्ने माग गर्दै पार्टीभित्र विशेष महाधिवेशनको आवाज उठिरहेको छ।

केही नेता–कार्यकर्ताले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानसमेत चलाइरहेका छन्।

यसैबीच, बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता खुला गरिएको जानकारी गराएका थिए।

भण्डारीलाई पार्टीभित्र कुन जिम्मेवारी दिने भन्ने विषय अहिले एमालेभित्र चासोको केन्द्र बनेको छ।

उनलाई सक्रिय राजनीतिमा फर्काउने तयारी भइरहेको चर्चा चलिरहेका बेला सचिवालय बैठकको निर्णयलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com