काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिकतामा राखेका छन्।
उनको निर्देशनपछि विद्युत् सेवा प्रवाहसँग सम्बन्धित गुनासो व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ। २४ घण्टा सञ्चालन हुने हटलाइन ११५१ मार्फत सेवाग्राहीका समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ।
मन्त्रालयका अनुसार जेठको पहिलो सातामात्रै उक्त हटलाइनमार्फत आएका १ हजार १८३ गुनासो शतप्रतिशत फछ्र्योट गरिएको छ। तीमध्ये भूमिगत केबल, नो लाइट, ट्रान्सफर्मर, मिटर तथा इभी चार्जिङसम्बन्धी समस्या प्रमुख रहेका छन्।
चैत १५ देखि ३० सम्म फोन, ह्वाट्सएप, इमेल र ‘हेलो सरकार’मार्फत ४ हजार २६९ गुनासो प्राप्त भएको थियो। त्यस्तै वैशाख महिनाभर ६ हजारभन्दा बढी उजुरी दर्ता भएका थिए।
मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता कुल ११ हजार ५७५ गुनासो दर्ता भई समाधान गरिएको मन्त्रालयले जनाएको छ। संसद्मा उठ्ने प्रश्न तथा सार्वजनिक गुनासोसमेत निगरानीमा राखेर समाधान प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया