चितवन । पेट्रोलियम पदार्थमा सरकारले लगाएको अत्यधिक करको विरोधमा चितवनमा अनौठो शैलीको आन्दोलन घोषणा गरिएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना को संस्था ‘गरिखाना देउ’ चितवन अध्यायको आयोजनामा हुन लागेको आन्दोलनको नेतृत्व युवा अभियन्ता बिशु लामा गुरुङले गरिरहेका छन् भने प्रदर्शनमा मिराज ढुंगाना र डा. जगत विक पनि सहभागी हुने जनाइएको छ।

सरकारले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा कर थप्दै जनतामाथि आर्थिक भार थोपरेको भन्दै युवाहरूले विरोध जनाएका हुन्। उनीहरूले अहिलेको आर्थिक संकट, महँगी र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बीच पेट्रोलियममा लगाइएको अतिरिक्त करले आम नागरिक, विद्यार्थी, मजदुर, किसान तथा यातायात व्यवसायी सबैलाई प्रत्यक्ष असर पारेको बताएका छन्।

advertisement

‘गरिखान देउ’ अभियानले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको नाममा निरन्तर बढाइँदै लगिएको भनिए पनि करको भार अत्यधिक भएकाले मूल्य अस्वाभाविक रूपमा महँगिएको दाबी गरिएको छ। सरकारले घाटामा पेट्रोल बेच्नुपर्छ भन्ने माग नभई, पेट्रोलियम पदार्थमा लगाइएका “अनावश्यक र जनविरोधी” करहरू हटाउनुपर्ने मुख्य माग भएको अभियानले जनाएको छ।

उनीहरूले हाल पेट्रोलमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका कर लगाउँदै आएको छ। जसका कारण उपभोक्ताले प्रतिलिटर पेट्रोलमा करकै रूपमा ठूलो रकम तिर्न बाध्य भएको उनीहरुको आरोप छ।

यसै विषयलाई लिएर चितवनको चौबिसकोठीदेखि लायन्सचोकसम्म विशेष बाइक र्‍याली आयोजना गर्न लागिएको अभियानले जनाएको छ।

र्‍यालीमा प्रदर्शनकारीहरुले आफ्ना बाइक ठेलेर प्रदर्शन गर्नेछन्। अभियानका अनुसार यसले इन्धनको मूल्यवृद्धि र करको भारप्रति सांकेतिक विरोध जनाउने उद्देश्य बोकेको छ।

आन्दोलनमा सयौं मोटरसाइकल चालक, युवा, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ। अभियानले आम नागरिकलाई पनि आन्दोलनमा सहभागी भई सरकारलाई जनताको वास्तविक पीडा बुझाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com