काठमाडौं। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव मागेको छ।
कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा राय तथा सुझाव संकलन गर्ने निर्णय गरिएको जनाएको हो।
सूचनामा नेपालको संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा सात दिनभित्र सुझाव उपलब्ध गराउन सबै नागरिकसँग आग्रह गरिएको छ।
कार्यदलले जारी गरेको सूचनामा भनिएको छ, “संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरिएको हुँदा नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनबारे सात दिनभित्र सुझाव उपलब्ध गराइदिन हार्दिक अनुरोध गर्दछौँ।”
मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको हो।
सरकारले संविधान संशोधनका सम्भावित विषयहरूमा व्यापक बहस र नागरिक सहभागिता बढाउने उद्देश्यले सुझाव संकलन प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया