काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच महत्वपूर्ण प्रश्न र सुझाव राख्दै संख्याको बलमा दम्भ नदेखाउन चेतावनी दिएका छन्। सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई जनताको समस्या समाधानतर्फ गम्भीर र जवाफदेही बन्न आग्रह गरे।
सरकारलाई जवाफदेही बन्न आग्रह
थापाले बहुमत र लोकप्रियताको आडमा संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ठूलो जनमत पाएको भए पनि जिम्मेवार ढंगले शासन सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
विगतमा बहुमत प्राप्त सरकारहरू समेत कार्यकाल पूरा गर्न असफल भएको स्मरण गराउँदै उनले अहिलेको सरकारले संवैधानिक मर्यादा ख्याल गर्नुपर्ने बताए। प्रधानमन्त्री बालेन शाह लाई संकेत गर्दै उनले शक्तिको भरमा मनपरी निर्णय नगर्न चेतावनी दिए।
सुकुम्बासी बस्ती व्यवस्थापन नगरी हटाउने कार्य गलत भएको उल्लेख गर्दै थापाले कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताए।
“व्यवस्थित गर्ने काममा साथ दिन्छौं, तर रहरका भरमा बस्ती भत्काउन पाइँदैन,” उनले भने।
उद्योगी–व्यवसायी पक्राउप्रति असन्तुष्टि
सरकारले उद्योगी, व्यवसायी र बैंकरमाथि अनावश्यक दबाब सिर्जना गरेको भन्दै थापाले आलोचना गरे। मन्त्रीलाई भेट्न समय नदिएको भन्दै निर्माण व्यवसायीलाई प्रहरी लगाएर पक्राउ गरिएको तथा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि बिना कारण नियन्त्रणमा लिएको खबर आएको उनले बताए।
“मन नपरेकै भरमा जसलाई पनि पक्राउ गर्ने प्रवृत्ति स्वीकार्य हुँदैन,” उनले चेतावनी दिए।
जनजीविकाका विषयमा सरकार गम्भीर बन्न आग्रह
मध्यपूर्व संकटका कारण इन्धनको मूल्यवृद्धि हुँदा आम नागरिकको दैनिक जीवन प्रभावित भएको थापाले बताए। ढुवानी खर्च र उत्पादन लागत बढ्दा बजारमा महँगी चुलिएको उल्लेख गर्दै उनले किसान, मजदुर र सर्वसाधारणलाई घरखर्च चलाउन कठिन भएको बताए।
सिँचाइका लागि पम्प प्रयोग गर्ने किसान, निर्माण क्षेत्र र सहकारी पीडितहरूको समस्या समाधानमा सरकार गम्भीर नभएको उनको आरोप थियो। सहकारी पीडितलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्थामा सरकारले केही करोड मात्रै निकासा गरेको भन्दै उनले आलोचना गरे।
स्वास्थ्य बिमाको अवस्था कमजोर बनेको भन्दै त्यसलाई व्यवस्थित गर्न पनि सरकारलाई आग्रह गरे।
संविधान संशोधनलाई खेलाँची नबनाउन चेतावनी
सरकारले गठन गरेको संविधान संशोधन कार्यदलप्रति प्रश्न उठाउँदै थापाले संविधान संशोधन संवेदनशील विषय भएकाले सीमित व्यक्तिको छलफलबाट निर्णय गर्न नहुने बताए।
“२०७२ सालको संविधान नेपाली जनताको भावना र संघर्षसँग जोडिएको दस्तावेज हो,” उनले भने, “सबै समुदायको भावना समेटेर मात्रै संशोधनको प्रक्रिया अघि बढ्नुपर्छ।”
भदौ २४ घटनाको छानबिन माग
थापाले भदौ २४ मा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे। पूर्वन्यायाधीश नेतृत्वको समितिले भदौ २३ सम्बन्धी प्रतिवेदन दिए पनि २४ गतेको घटनाबारे अझै पर्याप्त अनुसन्धान नभएको उनले बताए।
त्यसैगरी, जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।
सुशासनमा प्रश्न
थापाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको स्रोत छानबिन हुनुपर्ने बताए। आफू पनि परीक्षणका लागि तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रीहरू पनि पारदर्शिताको परीक्षामा उत्रिन तयार छन् वा छैनन् भनेर प्रश्न गरे।
“सम्पत्ति कमाउनु गलत होइन, तर त्यसको वैध स्रोत स्पष्ट हुनुपर्छ,” थापाले भने।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया