काठमाडौं ।  उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको लगेज (झोला) मा ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या रोक्ने उद्देश्यसहित यो व्यवस्था लागू गर्न लागिएको हो ।

यससम्बन्धी सम्झौता शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच भएको छ । सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग लगाइनेछ ।

advertisement

नयाँ व्यवस्थाअनुसार यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिएको सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइनेछ । यसले यात्रुको झोला हराउने, साटिने वा गलत व्यक्तिले लैजाने समस्या कम हुने विश्वास गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यो प्रणाली लागू गर्न लागिएको बताए । उनका अनुसार यसले लगेज चोरी तथा सार्वजनिक यातायातमा हुने अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न मद्दत गर्नेछ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै अब सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याइएको बताए । उनले यसले यात्रुलाई ढुक्क भएर यात्रा गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड र रात्रीकालीन यात्रामा सामान हराउने गुनासो बढ्दै गएको थियो । नयाँ प्रणाली लागू भएपछि यस्तो समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यसैबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” समेत सुरु गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोध न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको बताइएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com