काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागका अनुसार देशभरको तापक्रम विश्लेषण गर्दा आगामी ३ दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना छ। केही स्थानमा भने तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि जान सक्ने भएकाले अत्यधिक गर्मीको जोखिम रहने विभागले जनाएको छ।

advertisement

मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम तातो लहर र पहाडी क्षेत्रमा तातो दिनको अवस्था देखिने सम्भावना छ। त्यसैले सावधानी अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको हो।

विभागले ६ गतेदेखि नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही जिल्लामा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन भएको जनाएको छ।

तातो लहरको प्रभावबाट थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

सतर्कता अपनाउनुपर्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन्। साथै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई पनि अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ।

विभागले अत्यधिक गर्मीबाट बच्न चिसो स्थानमा बस्ने, घाममा ननिस्कने, हल्का सुती कपडा लगाउने, टाउको छोप्ने तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न आग्रह गरेको छ। साथै स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com