काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानविपरीत कार्य गर्ने र क्रियाशील सदस्यता नवीकरणमा अवरोध पुर्याउनेहरूलाई पदमुक्त गर्ने चेतावनी दिएका छन् ।
शनिबार विराटनगरमा नेता डा. शेखर कोइरालाको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति थापाले सदस्यता अद्यावधिक कार्यमा कसैले अवरोध गरे तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।
उनले केन्द्रमा क्रियाशील सदस्यहरूको स्पष्ट तथ्याङ्क रहँदा उम्मेदवार चयन र साधारण सदस्यहरूको अधिकार स्थापित गर्न सहयोग पुग्ने बताए ।
पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्दै थापाले अनुशासन, निर्वाचन र सदस्यता व्यवस्थापन जस्ता संयन्त्रहरू शीर्ष नेताहरूको सल्लाह र सहमतिमै गठन गर्न तयार रहेको स्पष्ट पारे ।
यसैबीच, सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन नियतवश लुकाइएको गम्भीर आरोप लगाएका छन् ।
प्रतिवेदन परिमार्जन गर्न आयोगमाथि दबाब दिइएको दाबी गर्दै उनले आफ्नो आरोप गलत भए तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकार र आयोगलाई चुनौती दिएका छन् ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया