ताप्लेजुङ। ताप्लेजुङको टिप्ताला नाका मा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ ।

फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।

advertisement

कोभिड-१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए ।

“नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो ।

ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल-चीनको सीमा टिप्ताला नाका पुग्न सकिन्छ”, वडाध्यक्ष लामाले भने ।

करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए ।

भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए ।

ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com