काठमाडौं। बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य नहुँदा उद्योगी तथा व्यवसायीहरू दोहोरो–तेहेरो कर तिर्नुपर्ने अवस्थामा रहेको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको साधारणसभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य हुन नसकेसम्म उद्योग व्यवसाय क्षेत्रले सास्ती खेप्नुपर्ने बताइन् ।
उनले भनिन्, “उद्योग व्यवसाय प्रवर्द्धनका क्रममा तीन तहको सरकारबीच सहकार्य नभएका कारण धेरै उद्योगी व्यवसायीहरूले दोहोरो तथा तेहेरो कर तिर्नुपरेको गुनासो आइरहेको छ ।
बागमती प्रदेश सरकारले यसलाई गम्भीर रूपमा मनन गरिरहेको छ ।”
मन्त्री श्रेष्ठले करको दर बढाउने होइन, करको दायरा बढाएर अघि बढ्नुपर्ने बताइन् ।
उनले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै बागमती प्रदेश मन्त्रालय मातहतका १३ जिल्ला कार्यालयमध्ये काभ्रे र चितवन जिल्ला कार्यालयले एकद्वार प्रणाली सुरु गरेको जानकारी दिइन् ।
उनका अनुसार यी दुई जिल्ला कार्यालयले सेवाग्राहीहरूलाई २० देखि २५ मिनेटभित्रै सेवा उपलब्ध गराउने नमुना कार्य अगाडि बढाएका छन् ।
मन्त्री श्रेष्ठले तीन तहका सरकारबीच समन्वय बढाउन सके मात्र उद्योगी–व्यवसायीहरूले राहत पाउने र उद्योग क्षेत्रले गति लिने बताएकी छन् ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया