काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार गर्नुपर्ने बताएका छन् ।

परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै सांसद केसीले परम्परागत मूल्य, मान्यता र आदर्शलाई जोगाउँदै समयअनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

advertisement

उनले भने, “परिवर्तनको नाममा जुत्तालाई टाउकोमा र टोपीलाई खुट्टामा लगाउने काम गर्नुहुँदैन ।”

लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यास

सांसद केसीले लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यासलाई कमजोर पार्ने प्रवृत्तिलाई निरंकुशता भएको टिप्पणी गरे ।

उनले वर्तमान सरकारले लोकतान्त्रिक परम्पराभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

“कतिपय परम्पराहरू परिवर्तनशील हुँदैनन्,” उनले भने, “अहिलेको सरकार लोकतान्त्रिक परम्पराभित्रको होइन ।

लोकतान्त्रिक परम्पराबाट बाहिर जानु निरंकुश प्रवृत्ति हो ।”

संसदीय अभ्यासमा प्रधानमन्त्रीको अनुपस्थिति

सांसद केसीले संसदीय अभ्यासबारे पनि कुरा गर्दै प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर आफ्नो दलले गम्भीर असहमति राखेको बताए ।

उनले भने, “यदि सरकारलाई असजिलो बनाउन खोजेको भए राष्ट्रिय सभाबाटै नीति तथा कार्यक्रम फेल गर्न सकिन्थ्यो ।

तर हामीले संसदीय परम्पराको सम्मान गर्दै गम्भीरतापूर्वक प्रश्न उठाएका हौं ।”

कांग्रेसको भूमिका स्पष्ट

नेता केसीले नेपाली कांग्रेस देशको हित, समृद्धि र रचनात्मक काममा सधैं सहयोग गर्न तयार रहेको तर लोकतान्त्रिक सिद्धान्त र स्थापित परम्परा तोड्ने प्रयास भने स्वीकार्य नहुने स्पष्ट पारे ।

“रचनात्मक र देशहितका काममा कांग्रेस प्रतिक्षा र धैर्यतापूर्वक सहयोग गर्न तयार छ,” उनले भने, “तर परम्परा तोड्ने, लोकतन्त्रका आधारभूत सिद्धान्त कमजोर पार्ने र इतिहास तथा गौरवलाई तोड्ने काम हामी स्वीकार गर्दैनौं ।”

कार्यक्रममा कांग्रेसका संसदीय दलका सचेतक निश्कल राई र नेता सबुज बानियाले पनि आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com