काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोली चलेको छ। सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्।
अमेरिकी गुप्तचर निकाय सीक्रेट सर्भिसका अनुसार एक व्यक्ति ह्वाइट हाउस परिसर बाहिरको सुरक्षा चेकपोइन्टमा पुगेपछि अचानक सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली चलाएका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले तत्काल जवाफी फायरिङ गरेका थिए। गोली लागेर घाइते भएका संदिग्धलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।
घटनाका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारण पनि गम्भीर घाइते भएका छन् र उनको अस्पतालमा उपचार भइरहेको छ। उनलाई बन्दुकधारीको गोली लागेको हो वा दोहोरो गोली हानाहानका क्रममा लागेको हो भन्ने विषयमा भने अझै स्पष्ट हुन सकेको छैन।
घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेको बताइएको छ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया