काठमाडौं । रुसले आइतबार बिहान युक्रेनको राजधानी किभमाथि व्यापक ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । पूर्वी युक्रेनको रुसी नियन्त्रणमा रहेको क्षेत्रमा हालै भएको घातक हमलापछि बदला लिने चेतावनी दिएको मस्कोले त्यसको केही समयमै किभलाई निशाना बनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् । विस्फोटका धक्काले सरकारी आवासीय भवनहरू हल्लिएका थिए भने त्रसित नागरिकहरू ज्यान जोगाउन भूमिगत मेट्रो स्टेशनहरूमा आश्रय लिन पुगेका थिए ।
किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले राजधानीमाथि ठूलो स्तरको ब्यालिस्टिक मिसाइल आक्रमण भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत किभका विभिन्न क्षेत्रमा लगातार खतरा कायम रहेको जानकारी दिएका छन् ।
किभका मेयर भिटाली क्लित्स्कोले पाँच जना घाइते भएको र तीमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । उनले ड्रोन आक्रमण जारी रहेको तथा थप मिसाइल प्रहार हुन सक्ने जोखिम अझै रहेकाले नागरिकलाई सुरक्षित स्थान नछाड्न आग्रह गरेका छन् ।
मेयर क्लित्स्कोका अनुसार राजधानीको उत्तर–पश्चिमी पोडिल्स्की जिल्लाको गैर–आवासीय क्षेत्रमा मिसाइलका भग्नावशेष खसेपछि त्यहाँ आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो । नजिकैको शेभचेन्किभ्स्की जिल्लामा एक आवासीय भवन आसपास आगलागीसमेत भएको जनाइएको छ ।
यसअघि रुसले आफ्नो नियन्त्रणमा रहेको पूर्वी क्षेत्रमा भएको आक्रमणका जिम्मेवारलाई कडा जवाफ दिने चेतावनी दिएको थियो । त्यसपछि युक्रेनी अधिकारीहरू र किभस्थित अमेरिकी दूतावासले राजधानीमा ठूलो आक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।
युक्रेनी सेनाले पछिल्ला दिनहरूमा रुस नियन्त्रित पूर्वी क्षेत्रमा व्यापक ड्रोन आक्रमण गरेको थियो । त्यसपछि मस्कोले किभविरुद्ध ठूलो सैन्य कारबाही गर्न सक्ने अनुमान गरिएको थियो ।
रुसका अनुसार युक्रेनी ड्रोन हमलामा एउटा कलेजको छात्रावासमा प्रहार हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । बिहीबारदेखि शुक्रबार रातिसम्म भएको उक्त आक्रमण पछिल्ला केही महिनामध्येकै सबैभन्दा घातक युक्रेनी कारबाहीमध्ये एक मानिएको छ ।
उक्त हमलामा रुस नियन्त्रित लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कमा ४२ जना घाइते भएका थिए भने कैयौँ मानिस भग्नावशेषमा फसेका थिए ।
यद्यपि युक्रेनले नागरिकलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । किभले स्टारोबिल्स्क क्षेत्रमा तैनाथ रुसी ड्रोन युनिटलाई निशाना बनाइएको दाबी गरेको छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया