काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको उनको भ्रमणलाई राजनीतिक र कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ ।
दुई दिनसम्म चल्ने भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । साथै, भारतीय जनता पार्टीका नेताहरूसँग पनि उनको छलफल हुने बताइएको छ ।
भारतले यसअघि पनि नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक भ्रमणमा बोलाउँदै आएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत यस्तै प्रकारका भ्रमण गरेका थिए ।
पछिल्लो समय नेपाल–भारत सम्बन्ध सीमा विवादलगायत विषयका कारण केही असहज बनेको छ । लिपुलेक प्रकरणपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको थियो ।
त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भारत भ्रमणको चर्चा भए पनि त्यसको मिति तय हुन सकेको छैन । यता, परराष्ट्रमन्त्री शिशिर खनालका तय भएका भारत भ्रमणसमेत रोकिएका छन् । यस्तो अवस्थामा रवि लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया