रौतहट। नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप चुस्त, प्रभावकारी र मजबुत बनाउन दुवै देशका सुरक्षा अधिकारीहरू सहमत भएका छन् ।

भारतको विहारस्थित सीतामढीमा ‘इन्डो-नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

advertisement

बैठकमा सीमापार हुने बहुआयामिक अपराध नियन्त्रण र दुई देशबीच समन्वयलाई अझ मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको हो ।

बैठकमा मुख्य रूपमा जाली नोट कारोबार, अवैध हतियार तस्करी, लागूऔषध ओसारपसार, मदिरा, सुर्तीजन्य पदार्थ तथा अन्य प्रतिबन्धित सामग्रीको तस्करी नियन्त्रण गर्न संयुक्त रणनीति बनाउने निर्णय भएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार दुवै पक्षले ‘मोस्ट वान्टेड’ अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, शंकास्पद व्यक्ति तथा तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत रोक्ने, सूचना आदान-प्रदानलाई तीव्र बनाउने र संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने दृढ सहमति गरेका छन् ।

यसैगरी बैठकमा मानव बेचबिखन, सीमा क्षेत्रमा जग्गा अतिक्रमण, बोर्डर पिलर (सीमा स्तम्भ) को सुरक्षा र ‘नो म्यान्स ल्याण्ड’ (दशगजा क्षेत्र) को अतिक्रमण जस्ता संवेदनशील विषयमा पनि सघन छलफल भएको छ ।

सीमा क्षेत्रमा शान्ति, सुरक्षा र जनस्तरमा सौहार्दपूर्ण वातावरण कायम राख्न दुवै देशका सुरक्षा निकायलाई पूर्ण सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

साना घटनालाई पनि गम्भीर रूपमा लिई तत्काल कारबाही गर्ने र दुई देशबीचको आपसी विश्वास तथा कूटनीतिक समन्वयलाई थप मजबुत बनाउने विषयमा पूर्ण सहमति भएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com