हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आर्थिक संकटका कारण लामो समयदेखि समस्याग्रस्त बनेको हेटौँडा सिमेन्ट उद्योगको निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले उद्योग व्यवस्थापन तथा कर्मचारीसँग छलफल गर्दै उद्योग पुनः नियमित सञ्चालनका विषयमा चासो व्यक्त गरेकी हुन् ।
छलफल कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेको उद्योग पटक–पटक बन्द हुनु दुःखद अवस्था भएको बताउँदै सरकारले बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिइन् ।
उनले हेटौँडा सिमेन्ट उद्योगलाई कसरी नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै निजी क्षेत्रका उद्योगहरू सञ्चालन भइरहेका बेला सरकारी उद्योग बन्द हुनु चिन्ताजनक रहेको बताइन् ।
मन्त्री यादवले उद्योगका समस्या समाधान गरी नियमित सञ्चालनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै व्यवस्थापन र कर्मचारीको सहकार्य पनि आवश्यक पर्ने धारणा राखिन् ।
कार्यक्रममा उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना तथा जीर्ण उपकरण, आर्थिक अभाव र कच्चा पदार्थको आपूर्ति रोकिँदा उद्योग बन्द गर्नुपरेको जानकारी दिए । उनका अनुसार उपकरण मर्मत गरेर सीमित रूपमा उत्पादन हुँदै आए पनि पछिल्लो समय कच्चा पदार्थ अभावले उद्योग पूर्ण रूपमा बन्द भएको हो ।
साहले आर्थिक समस्याका कारण कर्मचारीहरूले ११ महिनादेखि तलबभत्ता नपाएको, कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता भुक्तानी हुन नसकेको तथा विद्युत् महसुल तिर्न समेत समस्या रहेको बताए । तत्काल आर्थिक व्यवस्थापन गर्न सके उद्योग पुनः सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।
वि.सं. २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर हाल उद्योगका अधिकांश उपकरण पुराना भइसकेकाले प्रभावकारी उत्पादन गर्न कठिनाइ भइरहेको प्राविधिकहरूले बताएका छन् ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया