काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताएका हुन्।
मन्त्री खनालले सीमित स्रोत साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कूटनीतिज्ञहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। मन्त्री खनालले परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिविम्ब हुनुपर्ने बताए।
विश्व भू–राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु संकट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कूटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको उनको भनाइ छ।
मन्त्री खनालले नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई तिनको पूर्वअनुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा जोड दिए। संस्थागत सुधारको आवश्यकता औँल्याउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘हाम्रो रणनीतिक ध्यान अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ। वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ।’
मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने संकल्प गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटरहित बनाइने बताए।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया