काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गणतन्त्र दिवसको मुख्य समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । आगामी जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्तावसहित प्रधानमन्त्री कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक पत्राचार गरेको हो ।

सिंहदरबार स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपतिलाई समारोहमा सम्बोधन गर्न आग्रह गर्दै पत्र पठाइसकिएको छ । यसअघि गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक भने संविधानको धारा ६६ को उपधारा (२) अनुसार राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरिएको जनाइएको छ ।

advertisement

प्रधानमन्त्रीकाे प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पनि राष्ट्रपतिसमक्ष पत्राचार भइसकेको पुष्टि गरेकी छन् ।

प्रधानमन्त्री बालेन सार्वजनिक मञ्च र संसदीय गतिविधिमा बोल्नबाट लगातार टाढा रहँदै आएका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको संसद् बैठकमा समेत उनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा बोल्न अस्वीकार गर्दै सिधै सभामुखसमक्ष प्रस्ताव पेस गरेका थिए ।

यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका थिए । त्यस क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूको विरोध र बहिष्कारकै बीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

त्यसयता पनि प्रधानमन्त्री संसद्को प्रश्नोत्तर कार्यक्रममा सहभागी नभएको भन्दै विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिना संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ ।

विपक्षीको निरन्तर अवरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीसँग भेटेर संसद्मा उपस्थित हुने मिति मागेका थिए । तर प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद्मा आएर जवाफ दिने’ आश्वासन मात्रै दिएका थिए ।

यसबीच विपक्षीको अवरोधकै बीच ‘वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

निर्वाचनपछि प्रधानमन्त्री बनेयता बालेनले अहिलेसम्म देशवासीका नाममा औपचारिक सम्बोधन गरेका छैनन् । अन्य प्रमुख दलका शीर्ष नेताहरूले सार्वजनिक सम्बोधन गरिसक्दा पनि प्रधानमन्त्री भने औपचारिक भाषण र संसदीय प्रतिक्रियाबाट टाढै रहेका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com