काठमाडौं। अमेरिका र इरानबीचको सम्भावित सम्झौतामा केही महत्वपूर्ण मुद्दाहरूमा सहमति भएको इरानी विदेश मन्त्रालयले पुष्टि गरेको छ ।
बीबीसी फारसी सेवाका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दुई देशबीच केही बुँदाहरूमा सहमति जुटेको बताएका छन् ।
तर उनले यो सहमतिले चाँडै सम्झौता हस्ताक्षर हुने अर्थ नलाग्ने स्पष्ट पारेका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमले आइतबार दुई देशबीचको मतभेद अब ‘एक वा दुई’ मुद्दामा मात्र सीमित रहेको दाबी गरेका थिए ।
प्रवक्ता बगाईले अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र विगतमा वार्ताको क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको बताएका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै इरान र अमेरिका सोमबार नै युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सक्ने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार सम्झौता नजिकै रहेको बताएका थिए ।
तर पछि उनले सम्झौतामा पुग्न कुनै हतार नभएको भन्दै धैर्यता अपनाउनुपर्ने बताएका छन् ।
दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भए पनि अन्तिम सम्झौता र हस्ताक्षरका लागि अझै केही समय लाग्ने देखिएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया