काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । यससँगै अन्य प्रशासनिक तथा नीतिगत विषयसँग सम्बन्धित थप तीन निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सरकारको प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउने तथा विभिन्न निकायमा रिक्त पदपूर्तिसँग सम्बन्धित रहेको जनाइएको छ ।
बैठकबाट भएका मुख्य निर्णयहरू यस्ता छन् :
–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।
–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।
–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।
–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया