काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यकताअनुसार सार्वजनिक सम्बोधन गर्ने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सम्बन्धी प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको स्पष्ट पारे ।

advertisement

उनले प्रधानमन्त्रीले आवश्यक परेको समयमा र उपयुक्त सन्दर्भमा आफ्ना धारणा सार्वजनिक गर्ने बताए । “जहाँ आवश्यक हुन्छ, त्यहाँ प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुन्छ,” मन्त्री पोखरेलले भने ।

उनका अनुसार सरकार अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण, नीति तथा कार्यक्रम कार्यान्वयन र सरकारको पहिलो १०० दिने कार्ययोजनालाई प्रभावकारी बनाउने काममा केन्द्रित छ । यही कारण सरकार अत्यधिक कार्यव्यस्त रहेको उनले उल्लेख गरे ।

पछिल्लो समय प्रधानमन्त्री बालेन शाह सार्वजनिक सम्बोधन र संसदीय गतिविधिमा कम देखिएको विषयलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला सरकारका प्रवक्ताले प्रधानमन्त्री आवश्यकताअनुसार सार्वजनिक रूपमा प्रस्तुत हुने बताएका हुन् ।

यसअघि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com