काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न विपक्षी पक्षलाई उपस्थित गराउन आदेश दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा उनले यस्तो प्रकृतिको मुद्दा हेर्ने अधिकार विशेष अदालतलाई मात्रै रहेको जिकिर गरेका छन्।
देउवाले काठमाडौँ जिल्ला अदालतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पक्राउ पूर्जी जारी गरेको दाबी गरेका छन्। उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्।
देउवा दम्पती केही समयअघि हङकङ गएका थिए र हालसम्म नेपाल फर्किएका छैनन्। उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्न विभागले प्रक्रिया अघि बढाए पनि इन्टरपोलले अहिलेसम्म त्यस्तो नोटिस जारी गरेको छैन।




प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया