काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालत प्रशासनले गरेको दरपीठ सदर भएको छ।
सोमबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सर्वोच्च प्रशासनले गरेको दरपीठलाई सदर गर्ने आदेश दिएको हो।
अदालतका अनुसार प्रधानन्यायाधीश सिफारिससम्बन्धी प्रक्रिया अगाडि बढिसकेर नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाइ सम्पन्न भई नियुक्ति तथा शपथसमेत भइसकेको अवस्थालाई ध्यानमा राख्दै निवेदकको माग औचित्यहीन भएको ठहर गरिएको हो।
यससँगै प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर रिट दर्ता गर्न नसकिने अवस्था कायम भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र प्रेमराज सिलवालले सर्वोच्च प्रशासनले गरेको दरपीठ निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै अलग–अलग निवेदन दिएका थिए।
यसअघि सर्वोच्चका रजिस्ट्रारले गत वैशाख २५ गते संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर तीन वटा रिट दरपीठ गर्ने आदेश दिएका थिए। ती निवेदनहरू केही समय ‘होल्ड’मा राखी पछि दर्ता गरिएको भए पनि नियुक्ति र शपथपछि मात्र विषयले अन्तिम रूप लिएको हो।


प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया