काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजामती कर्मचारीहरूको तलब वृद्धि गर्ने तयारी गरेको छ ।

विगत तीन वर्षदेखि कर्मचारीको तलबमा कुनै वृद्धि नभएको र बजारमा महँगी निरन्तर बढ्दै गएकाले उनीहरूलाई राहत दिने उद्देश्यले यो योजना अघि सारिएको हो ।

advertisement

निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा कर्मचारीको तलब तथा भत्ता पुनरवलोकन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर पछिल्लो तीन वर्षदेखि यो प्रक्रिया रोकिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा तलब एकमुष्ट १५ प्रतिशत बढाइएको थियो भने चालु आर्थिक वर्षमा महँगी भत्तालाई तीन हजारबाट बढाएर पाँच हजार रुपैयाँ बनाइएको थियो ।

अर्थ मन्त्रालयले पनि आगामी बजेटमा कर्मचारीको तलब वृद्धि गर्न सकिने संकेत गरेको छ ।

मन्त्रालयका अनुसार ऐनको व्यवस्था अनुसार तलब बढाउनु समयानुकूल हुने भए पनि सरकारले वित्तीय अवस्था, राजस्व संकलन र समग्र आर्थिक स्थिति हेरेर उपयुक्त निर्णय लिनेछ ।

सरकारले प्रशासनिक खर्च घटाउने नीति लिएको छ ।

साबिकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटामा झारिएको छ भने करिब ६ सय वटा कार्यालय खारेज हुने सम्भावना रहेको छ ।

यसबाट बचत हुने रकम कर्मचारीको तलब वृद्धिमा प्रयोग गर्न सकिने गरी अर्थ मन्त्रालयले आन्तरिक तयारी गरेको छ ।

हाल निजामती कर्मचारीतर्फ सबैभन्दा तल्लो तहमा रहेका कार्यालय सहयोगीको तलब २४ हजार ७०२ रुपैयाँ छ भने सबैभन्दा माथिल्लो तहका मुख्य सचिवको तलब ७७ हजार २११ रुपैयाँ छ ।

विभिन्न निजामती कर्मचारी संगठनहरूले न्यूनतम आधारभूत तलब ३८ हजार ८६२ रुपैयाँ बनाउनुपर्ने माग गर्दै आएका छन् ।

कर्मचारीहरूले तलब वृद्धिसँगै स्वास्थ्य, आवास, सामाजिक सुरक्षा, पेन्सन सुविधा र डिजिटल प्रशासनमा व्यापक सुधार हुनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com