एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ। दक्षिणी इरानमा अमेरिकी सेनाले ‘रक्षात्मक कारबाही’ भन्दै आक्रमण गरेपछि एसियाली बजारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुडको भाउ करिब २ प्रतिशतले वृद्धि भएको हो।
सोमबार करिब ७ प्रतिशतले घटेको तेलको मूल्य मंगलबार पुनः उकालो लागेको हो। मंगलबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ९७.५६ अमेरिकी डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १.५ प्रतिशतले बढी हो। त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (WTI) क्रुड ९१.२५ डलर प्रति ब्यारेलमा कारोबार भएको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले दक्षिणी इरानका रणनीतिक लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। ती लक्ष्यमा जलक्षेत्रमा माइन राख्ने प्रयासमा रहेका डुंगा तथा मिसाइल प्रक्षेपण स्थलहरू समावेश रहेको बताइएको छ। अमेरिकाले यो कदम आफ्ना सैनिकको सुरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बास र स्ट्रेट अफ होर्मुज आसपास विस्फोटको आवाज सुनिएको जनाएका छन्। यसबीच, इरानले गैर–इरानी जहाजहरूको आवागमन लगभग रोकिएको बताइएको छ।
विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा तनाव बढेपछि ऊर्जा बजारमा उच्च सतर्कता देखिएको छ। यस अवरोधका कारण यसअघि नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भइसकेको छ।
यद्यपि पछिल्ला दिनहरूमा केही तेल तथा ग्यास ट्याङ्करहरू पुनः मार्ग प्रयोग गर्न थालेका छन्। विश्लेषकहरूका अनुसार पाकिस्तान, चीन र भारततर्फ गइरहेका केही एलएनजी ट्याङ्करले स्ट्रेट पार गरिसकेका छन् भने लामो समयदेखि रोकिएको इराकी तेल बोकेको ट्याङ्कर पनि चीनतर्फ अघि बढेको छ।
यसैबीच, इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि कतारको दोहामा प्रारम्भिक छलफल भएको बताइएको छ। सम्भावित सम्झौताअनुसार युद्ध रोकिएपछि ६० दिनभित्र अन्तिम सहमति गर्ने लक्ष्य राखिएको छ।
विश्लेषकहरूका अनुसार सम्भावित सम्झौताप्रति बजार आशावादी भए पनि राजनीतिक तथा सैन्य तनावका कारण ऊर्जा बजारमा जोखिम अझै कायम रहेको छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया