काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह चाँडै संसद् बैठकमा उपस्थित हुने जानकारी दिँदै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।
बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अर्यालले उनीहरूलाई आसन ग्रहण गरी कार्यवाही अघि बढाउन सहयोग गर्न अनुरोध गरे । उनले सरकार र प्रधानमन्त्रीसँग छलफल भइरहेको र प्रधानमन्त्री सदनमा उपस्थित हुने तयारीमा रहेको जानकारी पनि दिए ।
सभामुख अर्यालका अनुसार संसद्मा उठेका विषयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकिएको छ र उहाँ चाँडै सदनमा आउने तयारीमा हुनुहुन्छ । उनले विपक्षी दललाई धैर्य राख्दै बैठक सञ्चालन सहज बनाउन आग्रह गरे ।
तर सभामुखको आग्रहका बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् । उनीहरूले सदनमा उपस्थित भएर आफ्ना धारणा राख्न प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले प्रतिपक्षको भूमिकालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै साझा राष्ट्रिय एजेन्डा निर्माणका लागि प्रतिपक्षको आवाज सुन्नुपर्ने बताइन् ।
त्यस्तै, नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकार सदनप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने भन्दै आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने धारणा राखे ।
नेकपा (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले विपक्षी अवरोधका बीच बैठक अघि बढाउनु उपयुक्त नहुने बताए । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक खुश्बु ओलीले लोकतन्त्रमा संवाद पहिलो आधार भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन पुनः आग्रह गरिन् ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया