काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक साताभित्र संसद्मा उपस्थित हुने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै मुख्य सचेतक बुर्लाकोटीले प्रतिपक्षी दलहरूले उठाउँदै आएको मागअनुसार प्रधानमन्त्री सदनमा आउन लागेको स्पष्ट पारे ।

advertisement

उनले भने, “प्रधानमन्त्रीको सचिवालयसँग कुरा गरेँ । प्रधानमन्त्री ज्यू सदनमा आउनुहुन्छ ।

सम्भवतः एक हप्ताभित्रै सदनमा उपस्थित हुनुहुनेछ ।”

विपक्षी दलहरूले विगत केही समयदेखि प्रधानमन्त्री शाहको संसद्मा उपस्थिति र समसामयिक विषयमा जवाफ माग गर्दै निरन्तर दबाब दिँदै आएका थिए ।

मुख्य सचेतक बुर्लाकोटीको यो भनाइपछि नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले सत्तापक्षको प्रस्तुतिप्रति कडा आपत्ति जनाइन् ।

कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार सत्तापक्षले संसद्मा प्रस्तुत नभएको आरोप लगाउँदै उनले सदन सरकारको भजन गाउने थलो मात्र नबन्ने जिकिर गरिन् ।

प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर अन्य दलका नेताहरूले पनि आ–आफ्नो धारणा राखे ।

नेकपा (एमाले) का सांसद प्रमेश हमालले सत्तापक्षको मुख्य सचेतकले दिएको जानकारीबारे सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग गरे ।

राप्रपाकी सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमति र समझदारीलाई अक्षरशः पालना गर्न सत्तापक्षलाई आग्रह गरिन् ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसद्को गरिमा कायम राख्न सबैलाई संयमित हुन अपिल गर्दै सत्तापक्षले प्रतिपक्षको आवाज र आलोचनालाई सधैं सुन्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री संसद्मा आउने सत्तापक्षको आश्वासनपछि प्रतिपक्ष केही शान्त देखिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com