काठमाडौं । क्यान्सर उपचारका लागि नेपालकै प्रमुख केन्द्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्यावश्यक केमोथेरापी औषधिको अभाव देखिएको छ। विश्वव्यापी रूपमा उत्पन्न आपूर्ति समस्याका कारण केही महत्वपूर्ण क्यान्सर औषधि अस्पतालमा उपलब्ध हुन नसकेको हो।

अस्पतालको मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार विश्वभर नै क्यान्सर उपचारमा प्रयोग हुने मुख्य औषधिहरूको आपूर्तिमा समस्या देखिएको छ, जसको असर नेपालमा पनि परेको छ।

advertisement

उनका अनुसार औषधि अभावले केमोथेरापी उपचारको प्रभावकारिता घट्नुका साथै अवैध ओसारपसार र गुणस्तरहीन औषधि प्रयोगको जोखिम पनि बढाएको छ, जसले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

हाल अस्पतालमा विशेषगरी कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको अभाव छ। यी औषधि क्यान्सर उपचारका मुख्य केमोथेरापी योजनाका आधारभूत औषधि भएकाले यिनको विकल्प सहजै प्रयोग गर्न नसकिने चिकित्सकहरूको भनाइ छ।

डा. साहका अनुसार दैनिक करिब २०० बिरामीले केमोथेरापी लिने अस्पतालमा औषधि अभावका कारण उपचार योजनामा सम्झौता गर्नुपर्ने अवस्था आएको छ, जसले उपचारको गुणस्तरमा असर पारिरहेको छ।

कतिपय बिरामीहरूले छिमेकी मुलुक वा निजी स्रोतबाट औषधि ल्याउने गरेको पाइए पनि ती औषधि दर्ता नभएका, सिल तोडिएका वा उचित तापक्रममा नढुवानी गरिएका हुने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्। क्यान्सर औषधि सामान्यतया २५ डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्ने भए पनि गर्मी क्षेत्रमा बिना शीतलन ढुवानी गर्दा प्रभावकारिता घट्ने खतरा रहने उनीहरूको भनाइ छ।

पूर्व कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति करिब छ महिनाअघि नै रोकिएको हो। उत्पादक कम्पनीले कच्चा पदार्थ अभावका कारण उत्पादन बन्द भएको जानकारी दिएको उनले बताए।

अस्पतालले औषधि अभावबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ र विश्व स्वास्थ्य संगठन (WHO) लाई पनि सहयोगका लागि अनुरोध गरिएको छ।

बालबालिकाका लागि छुट्याइएका केही औषधि स्टकमा रहेकाले ती अन्य बिरामीमा प्रयोग गर्न अनुमति मागिएको अस्पताल प्रशासनले जनाएको छ।

चिकित्सकहरूले सरकार र सम्बन्धित निकायलाई औषधि आपूर्ति सहज बनाउने, अनुगमन कडाइ गर्ने र बिरामीलाई निरन्तर उपचार सुनिश्चित गर्ने व्यवस्था गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com