काठमाडौं । रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका पाँच सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेका छन् ।

कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै उनले साबिक नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सातमध्ये पाँच सांसद अहिले पनि पार्टी एकताको विपक्षमा रहेको बताए । तीमध्ये दुई सांसदले पद गुमे पनि साथ नछोड्ने बताइसकेको उनको दाबी छ ।

advertisement

रेशमले सुदूरपश्चिममा पाँच, लुम्बिनीमा तीन र मधेशमा एक सांसद आफूहरूसँग रहेको उल्लेख गरे । उनले पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापा आफूहरूसँग रहेको दाबी गरे ।

तर, खुशीराम चौधरी र कैलाश चौधरीबारे भने उनले कुनै टिप्पणी गरेनन् ।

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनबारे आफूले नेकपा संयोजक पुष्पकमल दाहालसँग संवाद गरेको पनि उनले बताए । “प्रचण्डजीले फोन गर्नुभएको थियो, हामी सुदूरपश्चिममा पाँच जना छौँ, अहिले केही गर्न सक्दैनौँ भनेको छु,” उनले भने ।

उनले रवि लामिछानेको दिल्ली भ्रमणको चर्चाले पनि पार्टीभित्रको समस्या उजागर भएको टिप्पणी गरे । प्रधानमन्त्री सदनमा उपस्थित नहुने र राष्ट्रपतिको सम्बोधनमा समेत सहभागी नहुने विषय गम्भीर रहेको उनको भनाइ थियो ।

रेशमले नयाँ दलहरूको नीति, सिद्धान्त र राजनीतिक दस्ताबेज स्पष्ट नभएको टिप्पणी गर्दै तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताए । “सिके राउतबाट धोका खायौँ,” भन्दै उनले ठूला दलको षड्यन्त्रले पार्टी एकता भाँडिएको आरोप लगाए ।

उनले थारू समुदायमाथि राज्यले अन्याय गरेको आरोप लगाउँदै भौगोलिक तथा सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको पक्षमा आफूहरू रहेको बताए ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबारे बोल्दै उनले दम्पतीबीचको विवादले चुनावमा असर परेको दाबी गरे । साथै, तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com