काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मा चरम अहङ्कार देखिएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर विपक्षीका प्रश्नको जवाफ दिन अस्वीकार गरिरहेको प्रसंगलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार फेसबुकमा लेख्दै साम्पाङले प्रधानमन्त्री शाहको व्यवहारको तुलना गर्दै अहङ्कार र जिद्दीपनबारे टिप्पणी गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तुलना गर्दै लेखेका छन्, ‘अहङ्कारमा केपी ओली जति हो त्यसको दोब्बर बालेन हुन्, र जिद्दीपनमा बालेन जति हो त्यसको दोब्बर हर्क साम्पाङ हुँ।’
प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै निरन्तर अवरोध गरिरहेका बेला प्रधानमन्त्री शाहले संसद्लाई सम्बोधन नगरेको भन्दै आलोचना भइरहेको छ ।
संसद्मा नाराबाजी र होहल्ला जारी रहे पनि प्रधानमन्त्रीले जवाफ दिन चासो नदेखाएको विपक्षीहरूको आरोप छ ।
यसअघि पनि श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री शाहको संसद् छल्ने प्रवृत्तिको आलोचना गर्दै उनलाई व्यंग्यात्मक रूपमा संसद्मा उपस्थित गराउनुपर्ने धारणा राखेका थिए ।
विपक्षी दलहरू भने प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म सदन सञ्चालन हुन नदिने अडानमा रहेका छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया