काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेका घटनाबारे सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा कार्कीको कुनै भूमिका वा संलग्नता रहे–नरहेको विषयमा विस्तृत अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

advertisement

त्यसैगरी, आन्दोलनका बेला उनले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले प्रदर्शनकारीहरूलाई थप आक्रोशित वा उत्तेजित बनायो कि बनाएन भन्ने विषय पनि छानबिनको दायरामा राख्न आयोगले सिफारिस गरेको छ ।

आयोगका अनुसार सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधिमा कार्कीसहित अन्य व्यक्तिहरूको भूमिका, संलग्नता वा दुरुत्साहन भए–नभएको विषयमा सूक्ष्म अनुसन्धान हुनुपर्ने आवश्यकता देखिएको छ । दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न पनि आयोगले सुझाव दिएको छ ।

जेनजी आन्दोलनका क्रममा गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको भन्दै व्यापक आलोचना भएको थियो । त्यसपछि सरकारले उनै कार्कीको नेतृत्वमा न्यायिक छानबिन आयोग गठन गरेको थियो ।

उक्त आयोगले मुख्यतः भदौ २३ गतेका घटनामाथि केन्द्रित भएर प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर, प्रतिवेदन निष्पक्ष नभएको आरोप लगाउँदै विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com