काठमाडौं । राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनको खोजी कार्य तीव्र पारेको छ ।
पक्राउ अनुमति जारी भएपछि फरार रहेका मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै उनको खोजी सुरु गरिएको हो ।
मंगलबार पर्सा जिल्ला अदालतले मेयर सिंहसहित चार जनाको नाममा पक्राउ अनुमति जारी गरेको थियो । त्यसपछि प्रहरीले सम्भावित स्थानहरूमा निगरानी बढाउँदै विशेष टोली परिचालन गरेको जनाएको छ ।
प्रहरीले मेयर सिंह अदालतमा हाजिर हुन पुगेको विषयमा आफूहरूलाई किन जानकारी नगराइएको भन्नेबारे पनि अनुसन्धान थालेको छ । साथै, उनी कसको संरक्षणमा अदालत परिसरमा पुगे र प्रहरी पुग्नुअघि कसरी बाहिरिए भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालत पुगेको सूचना ढिलो गरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट टोली तत्काल अदालत पठाइएको थियो । तर प्रहरी टोली पुग्नुअघि नै उनी त्यहाँबाट निस्किसकेका थिए ।
हाल फरार रहेका मेयर सिंहको खोजीका लागि पर्सा प्रहरीले विभिन्न सम्भावित क्षेत्रमा निगरानी बढाएको छ । स्थानीय सरकारको प्रमुख नै कानुनी मुद्दामा फरार भएपछि वीरगन्जको प्रशासनिक तथा राजनीतिक वृत्तमा यस घटनाले व्यापक चर्चा र तरंग पैदा गरेको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया