काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको आर्थिक कारोबारसम्बन्धी विषयमा छानबिन गर्न गठित समितिले बयान लिन सुरु गरेको छ । बुधबार समितिले उनलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो ।

दीपक भट्टको स्वामित्वमा रहेका लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदसँग सम्बन्धित विषयमा गुरुङसँग प्रश्न सोधिएको समितिका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार प्रारम्भिक बयान मात्रै लिइएको र प्रक्रिया अझै पूरा नभएको छ ।

advertisement

गुरुङको नाममा ती कम्पनीहरूमा करिब ५० लाख रुपैयाँ बराबरको सेयर रहेको भेटिएपछि सो विषयमा शंका उठेको थियो । रकमको स्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर खरिद गरेको दाबी गरेका छन् । यसै विवादपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

समितिका सदस्यहरूका अनुसार छानबिन अन्तिम चरणमा पुगेको छ भने आवश्यक प्रमाण संकलनको काम अझै जारी छ । अब बिदा अवधिमा प्रतिवेदन लेखन सम्पन्न गर्ने तयारी भइरहेको पनि उनीहरूले बताएका छन् ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com